राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज निर्णायक भेटवार्ता हुने भएको छ। सोमबार राति लामो समय भएको प्रारम्भिक छलफलपछि आजको भेटलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
स्रोतका अनुसार, बालेनलाई भेट्न रवि ललितपुरको कुपण्डोल जाने तयारीमा छन्। यसअघि कमलपोखरीमा भएको छलफलमा सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व रविले गर्ने प्रस्ताव राखिएको भए पनि ठोस सहमति हुन सकेको थिएन।
बालेनले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन्। रविसँगको छलफल टुंगोमा नपुगेपछि उनले आफ्नै नेतृत्वमा दल गठन गर्ने तयारी अघि बढाइरहेका छन्। बुधबार मन्त्री कुलमान घिसिङलगायतका विभिन्न राजनीतिक व्यक्तिसँग पनि बालेनले छलफल गरेका थिए।
आजको भेटमा आगामी राजनीतिक रणनीति, चुनावी सहकार्य र दलगत नेतृत्वका विषयमा निर्णय हुन सक्ने बताइएको छ।