विपन्न परिवारले पाए निःशुल्क घर

तम्घास - “निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन। अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ।” यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो।

विश्वकर्मा सालझण्डी ढोरपाटन सडकखण्ड विस्तार गर्दा विस्थापित भएकी थिइन्। छ वर्षअघि विस्थापित भएकी विश्वकर्मा अरुको घर, विद्यालय र त्रिपालमुनि बस्दै आएकी थिइन्। तर अहिले सरकारले निःशुल्क घर उपलब्ध गराएसँगै उनी खुसी छन्।

सोही ठाउँका केशव सुनार पनि उक्त सडकखण्डबाट पीडित हुन्। विगतका स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा घर बनाइदिने आश्वासन दिँदा विभिन्न दलका नेता–कार्यकर्ता भोट माग्न आए। तर घर बन्ने कुरामा पत्यार नभएको उनी बताउछन्। “घर बन्ने आशमा भोट हालेको तर पत्यार लागेको थिएन”, उनले भने, “नयाँ घर मिलेको छ, गाउँपालिकाप्रति आभारी छु।”

नयाँ घर प्राप्त गरेका बोमलाल अर्यालले पनि अब आफूहरू ढुक्कसँग निदाउने प्रतिक्रिया दिए। भूकम्पमा चर्किएको घर सडक विस्तारको क्रममा पहिरोे गई जोखिममा थियो तर घर बनाउने आर्थिक उपाय नभएपछि उनी जोखिम मोलेरै उक्त घरमा बसेका थिए। “वर्षायाममा ठूलो पानी आउँदा कतिबेला बगाउँछ भनेर रातभर जाग्राम बस्थ्यौँ”, उनले भने, “अब नयाँ घरमा ढुक्कसँग निदाउन पाइने भयो।” त्यसका साथै उनले आफूहरूलाई सानो भए पनि रोजगारीको व्यवस्था गरिदिन आग्रह गरे।

माया, केशव र बोमलाल त राज्यको तर्फबाट निःशुल्क घर प्राप्त गर्ने उदाहरणीय पात्रमात्रै हुन। सिर्सेनी पोखरामा उनीहरूजस्तै १७ जनाले नयाँ घर पाएका छन्। विसं २०७२ को भूकम्पमा उक्त घर सामान्य चर्किएका थिए। त्यसपछि सालझण्डी–ढोरपाटन सडक विस्तारका कारणले पहिरो जाँदा उनीहरू विस्थापित भएका हुन्। विस्थापितमध्ये दुई परिवार छिमेकीको घरमा आश्रय लिँदै आएका थिए भने १५ परिवार जोखिम मोेलेरै चर्किएको घरमा बसेका थिए। विस्थापितलाई लक्ष्य गरी गाउँपालिकाले बस्ती निर्माणको प्रक्रिया अगाडि बढाएको थियो। बुधबार एक कार्यक्रमको आयोजना गरी पूर्वमन्त्री एवं सोही क्षेत्रका सासंद गोकर्ण विष्टले पीडित परिवारलाई घर हस्तान्तरण गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×