राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवासमै पुगेर औपचारिक रूपमा बुझाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोलीले आइतबार प्रतिवेदन हस्तान्तरण गरेको हो।
प्रतिवेदनमा सो वर्ष आयोगमा दर्ता भएका उजुरी, तिनको छानबिन–अनुसन्धान, सरकारलाई पठाइएका सिफारिसहरू, मानव अधिकारको प्रवर्द्धनका गतिविधि, सिफारिस कार्यान्वयनको प्रगति, आयोगका उपलब्धि तथा चुनौती र भविष्यमा लिने रणनीतिहरू समेटिएका छन्।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा प्रभावकारी कार्यान्वयनका लागि आयोगले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा राखे, भनी आयोगका प्रवक्ता टिकाराम पोखरेलले जानकारी दिए।
आयोगका अध्यक्ष मगरले संघ, प्रदेश र स्थानीय सरकार, संवैधानिक आयोगहरू, मानव अधिकार रक्षक, गैरसरकारी संस्था, नागरिक समाज र अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्दै आयोगले निरन्तर काम गरिरहेको बताए।
कार्यक्रममा आयोगका सदस्य, सचिव, सहसचिव तथा कर्मचारीहरूको सहभागिता थियो।