काठमाडौँ - र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शोका विजेता साइमन विष्ट (भाइबर साइमन)लाई जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन्।
यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो। यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो।
अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले बताएका छन्। पहिलेको मुकुट विवादित बनेको र आगामी दिनमा यसको डिजाइन गर्दा सतर्क रहने पनि उनले बताएका हुन्।
‘नेपहपको श्रीपेच’का विजेता साइमनले विजेताको रुपमा श्रीपेच लगाउँदा आफूलाई गर्व लागेको बताएका छन्।
‘नेपहपको श्रीपेच’को दोस्रो सिजन भदौदेखि सुरु हुने पनि कार्यक्रममा जानकारी गराइएको छ।
यस्तै यही टिमले नयाँ कार्यक्रम ‘ब्याटल भूमि’ पनि आयोजना गर्दैछ। यसमा र्याप ब्याटल प्रस्तुत हुने जनाइएको छ। यो कार्यक्रमको निर्देशन ‘नेपहपको श्रीपेच’का निर्देशक निकेश खड्काले नै गर्नेछन्।