बहराइनमा जितविहीन नेपाल

काठमाडौँ - अन्तिम खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग पनि पराजित भएपछि नेपाली युवा टोली बहराइनमा सम्पन्न एएफसी यू-२० एसियन कप छनोटमा जितविहीन बनेको छ।

आइतबार राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३-० ले पराजित भएको हो। पहिलो खेलमै नेपाल तुलनात्मक रुपमा सबैभन्दा कमजोर मानिएको दक्षिण एसियाकै अर्को प्रतिद्वन्द्वी भुटानसँग पराजित भएको थियो। त्यो हारबाट कमजोर बनेको नेपाली टोलीको मनोबल माथि उठ्नै सकेन।

गएरातिको खेलमा नेपाली टोलीका अजय चौधरीले २६ औँ मिनेटमा रातो कार्डको सामना गरेपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो। कप्तान आयुष घलानले पनि ३५ औँ मिनेटमा रातो कार्डको सामना गरेपछि नेपाल ९ खेलाडीमा सीमित भएको थियो।

त्यस्तै, अजिजुल हक अनान्तोले दोस्रो पहेँलो कार्डको सामना गरेपछि बंगलादेश पनि १० खेलाडीमा सीमित भएको थियो। बंगलादेशले छैटौँ मिनेटमै मोहम्मद मोजिबोर रहमान जोनीले गरेको गोलबाट अग्रता लिएको थियो। ११ औँ मिनेटमा पिएश अहमद नोभाले बंगलादेशको अग्रता दोब्बर बनाएका थिए। ५२ औँ मिनेटमा साजेद हसन जुमोन निजुमले तेस्रो गोल थपेका थिए।

नेपाल रहेको समूह ‘बी’बाट कतार शीर्ष स्थानमा रह्यो। नेपाल अंकविहीन बनेर पुछारमा रह्यो। भुटान चौथो र बंगलादेश तेस्रो स्थानमा रह्यो। आयोजक बहराइन दोस्रो स्थानमा रह्यो।

पहिलो खेलमा भुटानसँग २-० ले पराजित नेपाल दोस्रो खेलमा कतारसँग ३-१ ले हारेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० ले पराजित भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×