धनुषा - आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन्। गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन्।
विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्ने तयारीमा छन् भने स्वतन्त्र उम्मेदवार आफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन्। “उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो सुरु गर्ने तयारीमा छौँ”, जसपाका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार लालकिशोर साहले भने, “हुन त पहिलादेखि नै जनताको घर–घरमा पुग्दै आएका थियौँ, तर अब गठबन्धनका सबै उम्मेदवारलाई सँगै लिएर घरदैलोमा जान्छौँ।” सत्तारुढ गठबन्धनका तर्फबाट नगरप्रमुखमा साहले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साहले उम्मेदवारी दिएकी छिन्।
नेकपा (एमाले)का उम्मेदवारले पनि घरदैलो अभियानलाई पनि आजैदेखि तीव्रता दिने बताएको छ। “हामीले हिजो उम्मेदवारी दर्ता गरायौँ र अब घरदैलो अभियान सुरु गर्छौँ, एमालेका तर्फबाट जनकपुरधामका नगरप्रमुखका उम्मेदवार शिवशङ्कर साह (हिरा)ले भने, “पहिलो उम्मेदवारीकै टुङ्गो लागेको थिएन, त्यही भएर राम्ररी घरदैलो र प्रचार–प्रसार गर्न सकेको थिइनँ, अब उम्मेदवारी दर्ता भईसकेकाले जनताको घरघरमा पुग्छौँ।”
घरदैलोका क्रममा मतदातासँग पार्टी घोषणापत्र र आफूहरूको कार्यसूचीबारे छलफलसमेत गरिने उनले बताए। जनकपुरधाम उपमहानगरबाहेक धनुषाका सबै पालिकामा उम्मेदवारी दिएको नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी प्रचार अभियान छिट्टै सुरु गर्ने तयारीमा छ। पार्टीभित्र आकाङ्क्षी बढी भएकाले अन्तिम समयमा मात्र उम्मेदवार छनोट गरेर धनुषाको १७ स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका उम्मेदवारले एकैसाथ चुनावी अभियान सुरु गर्ने तयारी भइरहेको माओवादी केन्द्र धनुषा अध्यक्ष तथा धनुषाधाम नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार दीपककुमार यादवले बताए।
“उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो अभियानमा जान्छौँ”, उनले भने, “यसपालिकाको चुनावमा प्रचार–प्रसार गर्ने समय कम छ, त्यसैले ढिलाइ नगरी जनताको घरघरमा पुग्ने छौँ।” घरदैलोको क्रममा जनतासँग पार्टीको योजनाबारे छलफल गर्ने उनको भनाइ छ। नेपाली कांग्रेस, जनमत पार्टीलगायतले पनि घरदैलो अभियान सुरु गरिसकेको बताएको छ। उम्मेदवार मतदातासँग मत माग्न गाउँ–गाउँमा पुग्न थालेपछि गाउँबस्तीलाई चुनावी माहौलले छोपिसकेको छ। धनुषाका १८ वटै स्थानीय तहमा सोमबार शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो।