सामाजिक कुरीति हटाउन ‘कचहरी’ नाटक

काठमाडौँ - साइनो कला केन्द्रले खोटाङका विभिन्न स्थानमा जनचेतनामूलक ‘कचहरी’ नाटक प्रदर्शन गरेको छ।

केन्द्रले दिक्तेल बजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, खार्मी, जालपा र बुइँपा तथा दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल बहुमुखी क्याम्पसमा नाटक प्रदर्शन गरेको हो। पारिवारिक बेमेल र झैझगडाका कारण बालबालिकामा पर्ने असर न्यून गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको साइनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिए। यही फागुन ९ गते सोल्माबाट प्रदर्शन सुरु गरिएको उक्त नाटक  बुइँपामा पुर्याएर टुङ्ग्याइएको छ। ग्रामीण भेगका बासिन्दाको जीवनमा आधारित कचहरी नाटक हेर्न उल्लेख्य सङ्ख्यामा स्थानीयको सहभागिता थियो। नाटकले दर्शकको मन जित्न सफल भएको श्रेष्ठ बताउँछन्। इलामका अनिल सुब्बाले निर्देशन गर्नुभएको नाटकमा खोटाङकी पवित्रा राई, कविराज राई, सञ्जिव राई, योगिन राई, सविना राई, निरुता खत्री, रोजिना खत्री, कौशिला राई र दीपेन्द्र राईले अभिनय गरेका छन्।

नाटक देखाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सहयोग गरेको हो। नगरप्रमुख दीपनारायण रिजाल कचहरी नाटकबाट कुरीति र कुसंस्कार हटाउन सहयोग पुग्ने बताउँछन्। अब सो नाटक ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×