मकवानपुर गोल्डकपमा नेपाल आर्मी र विजय युथ उपाधिका लागि भिड्दै

मकवानपुर - हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता-२०७९ को फाइनल सोमबार हुँदैछ।

हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा भइरहेको प्रतियोगितामा नेपाल आर्मी क्लब र स्थानीय विजय युथ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। आर्मी साविकको विजेता हो भने विजय युथ उपविजेता हो। आर्मीको उद्देश्य उपाधि रक्षा गर्ने हुनेछ भने विजय युथको उद्देश्य गत वर्षको बदला लिने। दुवै टोलीका प्रशिक्षकले प्रि-म्याच कन्फ्रेन्समा उपाधि जित्ने दाबी गरेका छन्।

फाइनल पुग्न आर्मीले एपीएफ क्लब र विदेशी टिम एभिनियर एफसीलाई पराजित गरेको थियो। दुवै टिमलाई आर्मीले पेनाल्टीमा पराजित गरेको हो। आर्मीले सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा गोल खाँदा दुवै खेल टाइब्रेकरमा पुगेका थिए। विजय युथ नवजनजागृति युवा क्लब र नेपाल पुलिस क्लबलाई पराजित गरेर फाइनल पुगेको हो। विजय युथले दुवै खेल निर्धारित समयभित्रै आफ्नो पक्षमा पारेको थियो। विजय युथले कुनै गोलको सामना गरेको छैन। 

हालसम्मको प्रदर्शन हेर्दा आर्मीको डिफेन्स लाइन बलियो देखिएको छ भने विजय युथको मिडफिल्ड र फरवार्ड बलियो छ। आर्मीका डिफेन्डरको प्रशिक्षक नवीन न्यौपानेले पनि तारिफ गरेका छन्। ‘हाम्रा नौ जना खेलाडी राष्ट्रिय टोलीमा रहेका छन्। जसका कारण हामीले नयाँ खेलाडी प्रयोग गरिरहेका छौं। उनीहरूले राम्रो खेलिरहेका छन्,’ उनले भने, ‘उपाधि जित्नेमा हामी ढुक्क छौं।’ आर्मीका कप्तान भरत खवासले हाम्रा खेलाडी फाइनलका लागि तयार रहेको बताएका छन्।

‘हाम्रा सबै खेलाडी फिट छन्। विजय युथसँग प्रतिस्पर्धा गर्न तयार छौं।’ उनले विजय युथलाई स्थानीय टोली भएको फाइदा भए पनि आफूहरू उपाधि रक्षा गरेरै छाड्ने दाबी गरेका छन्।

विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनल खेलका लागि आफ्नो टोलीले छुट्टै रणनीति तयार गरेको बताए। उनले डिफेन्स लाइनलाई बलियो बनाउन एक जना खेलाडी परिवर्तन गरिनेसमेत स्पष्ट पारेका छन्। विजय युथका मुख्य डिफेन्डर विदेशी खेलाडी पेपे दोहोरो पहेँलो कार्डका कारण फाइनल खेल्नबाट वञ्चित भएका हुन्।

उनको स्थानमा अर्का विदेशी खेलाडी खेलाउन लागिएको छ। विजय युथका कप्तान अशोक बरालले आर्मी बलियो टोली भए पनि च्याम्पियन बन्ने गरी आफूहरूले तयारी गरेको बताएका छन्। ‘आर्मीको तुलनामा हाम्रा खेलाडी अनफिट देखिएका छन्। तर, हामी खेल जित्छौं। हामी शतप्रतिशत शक्ति लगाएर खेल्नेछौं,’ उनले भनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×