मकवानपुर - चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार वाग्मती युवा क्लब सर्लाही र जनजागृति युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुँदैछ।
हेटौँडा ५ स्थित क्याम्पाडाँडा मैदानमा हुने प्रतियोगितामा एक विदेशीसहित १२ टिमको सहभागिता रहेको छ। जेठ ३० सम्म हुने प्रतियोगिताका अन्य टोलीमा मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, फ्रेन्ड्स क्लब, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा र चितवन–११ छन्। विदेशी क्लब एभिनियर एफसी क्यामरुनको पनि सहभागिता रहेको छ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका दस स्थानीय तहको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो। विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ६ लाख रुपैयाँ बराबरको बुलेट बाइक पाउने आयोजकले जनाएको छ। विधागतमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार रहेको छ। प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार प्राप्त गर्नेछन्।