एजेन्सी - अन्तालिया कूटनीति मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र संयुक्त अरब इमिरेट्स (युएई)का अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारीबीच द्विपक्षीय भेटवार्ता भएको छ।
त्यस अवसरमा दुवै देशका मन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरूको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्नबारे विचारविमर्श गरेका थिए। मन्त्री खड्काले नेपाली उत्पादनको निर्यात बढाउन सहज बजार पहुँचका निम्ति सहजीकरण गर्न तथा नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए।
आर्थिक सहयोग विस्तार, जनता–जनताबीचको सम्पर्क अभिवृद्धि र पर्यटन प्रवद्र्धनलागयत द्विपक्षीय साझेदारीका विभिन्न आयाममा उहाँहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै मन्त्री खड्काले युएईमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा युएई सरकारको सराहना गर्नुभएको थियो। युएई नेपालको प्रमुख श्रम गन्तव्य मुलुक हो।
आजै परराष्ट्रमन्त्रीले ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासका लागि नयाँ एशिया’ विषयमा भएका दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्दै समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा केन्द्रित रहेर नेपालका धारणा प्रस्तुत गरेका थिए ।