काठमाडौँ - निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन।
आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै २२ असारमा सरकारसमक्ष २ मङ्सिरको मिति प्रस्ताव गरेको थियो। तर, सरकारले मिति घोषणा नगर्दा मङ्सिरमा निर्वाचन हुने नहुने निश्चित छैन। आयोगले मिति घोषणामा ढिलाइ भए निर्वाचन तयारीमा समस्या हुने बताउँदै आइरहेको छ। उच्च स्रोतका अनुसार संसद्को चालू अधिवेशन अन्त्य गरेर मात्रै निर्वाचन मिति तोक्ने सरकारको तयारी छ। सरकारमा रिक्त अर्थमन्त्री, नागरिकता विधेयकका कारण निर्वाचन मिति घोषणामा ढिलाइ भएको स्रोतको दाबी छ। तर, आइतबार नै अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भइसकेका छन् भने नागरिकता विधेयक दुवै सदनबाट पारित भएर आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरिसकेका छन्। राजधानी दैनिकबाट