काठमाडौँ । पृथ्वी जयन्तीका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिएकोमा सरकार प्रति आक्रोश पोखेका छन् ।
उनले आफ्नो आक्रोश व्यक्त गर्दै सडकबाटै दबाब दिएर पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन बाध्य बनाउने दाबी समेत गरेका छन् । उनले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल नरहने उल्लेख गर्दै उनले नेपाल नरहेको भए अहिले शेरबहादुर देउवा प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति बन्ने अवस्थानै रहने थिएन भनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
लिङ्देनले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व मान्न र मनाउन लाज मान्नेहरुबाटै देश सञ्चालित भएको भनि आक्रोश पोख्दै प्रश्न गरे, "देश कुन दिशामा गइरहेको छ, देश कसको हातमा, कसको नेतृत्वमा परिरहेको छ ?" उनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्व बनाउन आजैबाट जनसंघर्ष गर्ने समेत उद्घोष गरेका छन् ।
कार्यक्रममा हिन्दू राष्ट्र कायम गर, राप्रपा जिन्दावाद, श्री ५ बडामहाराज पृथ्वी नारायण शाह अमर रहुन् लगायतका नाराहरु गुञ्जिएका थिए ।