सञ्जीव राईका तीन रचना

    गीत 

जिन्दगी हिँडीरह्यो म त्यहिँ छुटे
यता सपना चर्कियो उता म फुटे

मनहर्ने सुन्दर सपना देखायो
मेरै रगतले नाम उसको लेखायो
माया गर्थ्यो भन्ने भ्रम सब टुटे
यता सपना चर्कियो उता म फुटे

रहरहरू सबै नफुली झरेछन्
खुशी रोपेकोथे पीर मात्रै सरेछन्
मेरो भाग्य के भनुँ खैः भावीले नै लुटे
यता सपना चर्कियो उता म फुटे
 

कविता: सम्बन्धको सौन्दर्य

फुलसँग मित्रता गाँसेपछि
आफै मग्मगाउन थालेँ म

काँडाको बाटो हिँडेर आएको
रगताम्य खुट्टाले
पत्र-पत्रमा टेक्दै
फुलको पहाड चढ्दै गएँ म

वासनाको गहिरो सुरुङमा 
मेरो शरीरभरी उत्तेजनाको तरङ्ग फैलाउने
फुलको कँगन खित्कालाई
धेरै पटक
कामुकताको मकलमा बालेर आगो तापेँ मैले

अँध्यारोमा जताततै ठक्कर खाँदै लडेर
चोटैचोट लागेको मेरो नियती सुम्सुम्याउँदै
आफ्नो मायाको स्वर्गबाट
आफैले चोरेर आगो
फुलले मलाई जिन्दगीभर पुग्ने
उज्यालो दिएको छ
यही उज्यालोमा प्रष्टसँग देख्न सक्छु म
आहा! कस्तरी निखारिँदै निखारिँदै
स्निग्ध बनेको छ
सौन्दर्य यो 
फुलसँगको सम्बन्धको 

फुलसँग मित्रता गाँसेपछि
आफै मग्मगाउन थालेको छु म।

   गजल 

सपना त भ्रमको सुन्दर फूल रैछ
बिपनामा टिप्न खोज्नु मेरो भुल रैछ

वारि रहेँ म सँधै उनी रहिन् पारि
मायाको नदीमा भत्किएको पुल रैछ

हरेक रात पीडाले टन्न मातिएर
हल्ला गर्दै हिँड्नेरू सपनाको हुल रैछ

सुनेको थेँ भनेको मीठो हुन्छ सम्झना
काँडाझैँ तर त्यो बिझाउने शुल रैछ

आँखाभरी पानी यो काँबाट आयो सञ्जीव 
छातीभित्र व्यथा रसाएको मुल रैछ ।।

सञ्जीव राई

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×