विवाद चुलिँदै जाँदा कांग्रेसको विशेष महाधिवेशन आज आह्वान हुँदै

नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवादका बीच आज विशेष महाधिवेशन औपचारिक रूपमा आह्वान गरिँदै छ। विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई महाधिवेशनका लागि आमन्त्रण गर्ने तयारी गरेको छ।

सचिवालयका तर्फबाट शान्ति सुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पत्राचार गरिसकिएको जानकारी दिँदै नेता मनोजमणि आचार्यले आज बिहान करिब ११ बजे पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन आह्वान गरिने बताए। उनका अनुसार अभियानकर्ता पक्षधरको तर्फबाट सबै प्रतिनिधिलाई सहभागी हुन आग्रह गरिनेछ।

आचार्यका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन्। उनीहरूले प्रेस विज्ञप्ति वा भिडियो सन्देशमार्फत आह्वान गर्न सक्ने बताइएको छ।

विशेष महाधिवेशन पक्षधरले महाधिवेशनका लागि भृकुटीमण्डप पहिले नै बुक गरिसकेको छ भने आवश्यक विभिन्न समिति पनि गठन गरिसकेको सचिवालयले जनाएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदनसमेत दिइएको छ।

महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरिरहेका छन्। तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नभएको अडान लिँदै आएको छ।

यससँगै कांग्रेसभित्रको शक्ति संघर्ष थप सतहमा आएको छ भने विशेष महाधिवेशनले पार्टीको भावी दिशा तय गर्ने निर्णायक मोड लिने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×