काठमाडौँ । भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ । मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ ।
भाजपा आफू एक्लै बहुमतबाट चुके पनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ । जसमा प्रमुख रुपमा भाजपा पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।