पोखराका नौ ताल जोड्न साइकलमार्ग

काठमाडौँ - सुन्दरनगरी पोखरालाई थप व्यवस्थित र आर्कषण बनाउने काम सुरु भएको छ। 

प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल जोड्ने साइकलमार्ग निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो। समुन्नत र समुद्ध पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्ग निर्माण गर्न रु ३० लाख बजेट विनियोजन गरेको छ। यसका लागि १८३ किलोमिटर साइकल ट्र्याकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई रु. ३५ करोडको लागतप्रक्षेपण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिए।

उनले पोखराका ९ ताल फेवा, रुपा, बेगनास, कमलपोखरी, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा प्राकृतिक र सांस्कृतिक विविधताले युक्त पोखराको सौन्दर्य अवलोकनका लागि साइकल संस्कृति विकास आवश्यक रहेको बताए। यस विषयमा सरोकारवालाबीच छलफल भइसकेको र पहिलो चरणमा साइकलमार्गमा सङ्केत चिन्ह राख्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ।

महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले पोखरा प्राकृतिक सुन्दरताले वरदान पाएको सहर भएकाले यसलाई सुन्दर बनाउन थप नयाँ कुराको खोजी गर्नुभन्दा पनि भइरहेको प्राकृतिक कुरालाई व्यवस्थापन गरेर नयाँ कलेबरमा रूपान्तरण गर्न सके मात्र पुग्ने उनले बताए। “अनुकुल मौसमदेखि हिमशृखङ्ला ताल तलैयाको अनुपम वरदान पाएको सहर हो पोखरा। ‘कनेक्ट लेक टु लेक’ पर्यटन प्रवर्द्धनका लागि साइकल राम्रो विकल्प बन्नेछ”, उनले भने।

विश्वका साइकलमार्गमध्ये यो पृथक खालको रहेको र यो मार्ग पोखराको गौरवको योजना भएकाले यसलाई निरन्तरता दिन त्रिवर्षीय योजनामासमेत समावेश गरिएको उपाध्यक्ष डा. लामिछानेको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×