१३ मंसिर, काठमाडौं । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि देशभर एकैदिन प्रतिनिधि छनोट प्रक्रिया सुरु गरेको छ । ११ मंसिरमा अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएको र केही क्षेत्रमा सहमति भए पनि सहमति नजुटेका क्षेत्रमा आज बिहान ८ बजेदेखि मतदान भइरहेको केन्द्रीय कार्यालयले जनाएको छ।
निर्वाचन अधिकांश स्थानमा दिउँसो २ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ। जिल्लाहरूले आवश्यकताअनुसार समयसमेत समायोजन गरेका छन्। केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट करिब २ हजार प्रतिनिधि छनोट हुँदैछन् भने प्रवास, जनसंगठन तथा विभागहरूबाट थप करिब १ सय प्रतिनिधि चयन हुनेछन्।
एमालेको १५ कात्तिकको सचिवालय बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट खुला दुई र महिला एक प्रतिनिधि चयन गर्नुपर्ने तथा अनिवार्य रूपमा एक जना ४० वर्षभन्दा कम उमेरका युवा प्रतिनिधि हुनुपर्ने व्यवस्था गरेको थियो। यसैगरी ८ सय सदस्यबाट एक महिला प्रतिनिधि तथा ५०० सदस्यबाट एक दलित प्रतिनिधि चयन गर्ने प्रावधान राखिएको छ।
ट्रेड युनियनबाट सात जना, प्रत्येक जनसंगठनबाट पाँच जना र महासंघीय संरचनामा रहेका जनसंगठनबाट सात जना प्रतिनिधि रहनेछन्। विभाग तथा कार्यालयबाट एक-एक प्रतिनिधि चयन गरिनेछ। प्रवासबाट महादेशअनुसार पाँच प्रतिनिधि रहनेछन्।
केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद् गरी ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्। हाल एमालेको कुल संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेको र यसअनुसार प्रदेश, प्रतिनिधिसभा क्षेत्र, विशेष जिल्ला, दलित, ट्रेड युनियन, जनसंगठन तथा प्रवास मिलाएर करिब १९ सयभन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ।
यससँगै पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ। कुल संख्या २१ सय भन्दा बढी पुग्ने अनुमान गरिएको छ। सचिवालयको पछिल्लो निर्णयअनुसार प्रतिनिधि संख्या केही वृद्धि हुनेसमेत बताइएको छ।