काठमाडौँ - कतारमा सात दिनपछि सुरु हुने विश्वकपका लागि इङ्ल्यान्डको टिममा परेका जेम्स म्याडिसन घाइते भएका छन्। इङ्लिस प्रियिमर लिगअन्तर्गत लेस्टर सिटी र वेस्ट ह्यामबीचको खेलमा ह्याम्स्ट्रिङका कारण म्याडिनस २२औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।
उनले मैदान छोड्दा लेस्टर १-० ले अगाडि थियो। म्याडिसनले नै आठौं मिनेटमा गरेको गोलसँगै लेस्टरले अग्रता लिएको थियो।
‘यो ठीक हुन्छ,’ उनले भने, ‘हो, मलाई यस्तै लाग्छ।’ वेस्ट ह्यामविरुद्धको खेल २-० ले जितेपछि लेस्टरका मुख्य प्रशिक्षक ब्रेन्डेन रोजर्सले जोखिम नलिन उनलाई निकालिएको बताएका थिए। ‘मैले भर्खरै डाक्टरसँग कुरा गरेँ, उनी ठीक छन्,’ उनले भने, ‘उनलाई घुँडामा लागेको थियो। त्यसैले हामीले जोखिम लिन चाहेनौं।’
म्याडिसनले हालसम्म इङ्ल्यान्डबाट अहिलेसम्म १ खेल मात्रै जितेका छन्। सन् २०१९ मा भएको युरोपियन च्याम्पियनसिपको छनोटअन्तर्गत मोन्टेनेग्रोविरुद्धको खेलमा म्याडिसन सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
जारी सिजन लेस्टरमा राम्रो लयमा रहेकै कारण म्याडिसन विश्वकप खेल्ने टिममा परेका हुन्। इङ्लिस प्रशिक्षकले उनलाई छनोट गर्नुअघि ६ गोल र ४ असिस्ट गरेका थिए।