संसद्को आयु लम्ब्याउनु नहुने र मनोनयनपछि संसद् नरहने प्रचण्डको दाबी

कैलाली - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को आयु नलम्बिने दाबी गरेका छन्। मङ्गलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धनमा संसद्को आयु लम्ब्याउन हुँदैन भनेर छलफल भएकाले कुनै हालतमा संसद्को आयु लम्बिन नहुने बताए। 

उनले मङ्सिरको निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद् नरहने पनि बताए।  ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन। मंसिर ४ गते चुनाव हुन्छ। मंसिर चारपछि संसद् रहँदैन, दुविधा छैन।’

अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट सङ्ख्या, क्षेत्र र प्रदेश एकैचोटी टुङ्ग्याउने भनेर गठबन्धन लागिरहेको पनि बताए।  ‘कार्यदलमा आज टुङ्ग्याउने भनेर काम गरिरहनुभएको छ। भोलि हामी त्यसलाई अन्तिम रूप दिन्छौँ’, अध्यक्ष प्रचण्डको भनाइ छ।  

उनले सिट सङ्ख्यामा आ–आफ्नै दाबी हुने भए पनि कांग्रेसले सुरुमा सय भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको बताए। त्यस्तै माओवादीले ६० मा दाबी गरेपनि केही सङ्ख्या तलमाथि हुनसक्ने भन्दै नेकपा एकीकृत समाजवादी र नेसपामा पनि २५ सिटको वरिपरिबाटै सहमति खोजिने बताए। 

‘हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला, त्यसैमा सहमति हुन्छ भन्ने हाम्रो विश्वास छ। यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधि बसेर मिलेको जति मिलाउने नमिलेको स्थानमा शीर्ष बसेर मिलाउने कुरा छ ’, प्रचण्डको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×