काठमाडौँ - नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणका लागि खेलाडीको वर्गीकरण सहितको अक्सन सुची सार्वजनिक गरेको छ। एनएसएलले सार्वजनिक रहेको सुचिमा रहेका २ सय ४२ खेलाडीलाई दर्ता गर्न आव्हान गर्दै आज वर्गीकरण सार्वजनिक गरेको हो।
यसै साता ए डिभिजनका ८ क्लबले सम्झौतामा रहेका खेलाडीलाई अन्य क्लबमा आबद्ध नहुन अनुरोध गर्दै विज्ञप्ति जारी गरेपछि एनएसएलमा खेलाडी सहभागिता बारे प्रश्न उठेको थियो। यसका लागि एनएसएलले अक्सनमा सुचिकृत खेलाडीलाई पुन: आफैं दर्ता प्रक्रियामा सहभागी भएर क्लबको फुकुवा पत्र अनिवार्य गरेको छ।
एनएसएलले यसपटक ए श्रेणीमा ४० तथा बी र सी श्रेणीमा समान १ सय १ खेलाडीको नाम राखेको छ। अब मार्की खेलाडी पक्का भएपछि ए श्रेणी र अन्य श्रेणीमा पनि खेलाडी थपिने सम्भावना छ। यसपटक एनएसएलमा १० टोली सहभागी रहने र हरेक टोलीमा २३ खेलाडी हुनुपर्ने कारण पनि सुचिमा खेलाडी संख्या थप हुने आँकलन रहेको छ।
हालसम्म एनएसएलले खेलाडी विषयमा सार्वजनिक गरेको यो नै पहिलो सुची हो । यसअघि मार्की खेलाडीको सुची भने लिगले आन्तरिक रुपमा क्लब हरुलाई मात्र दिएको थियो।