काठमाडौँ - बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’लाई लिएर भइरहेको विवाद रोकिने कुनै छाँटकाँट देखिएको छैन। रिलिज हुनुअघिबाटै सामाजिक सञ्जालमार्फत बहिष्कारको मुद्दा खेपेको फिल्म बक्स अफिसमा कमजोर सावित हुन पुगेको छ।
यसैबीच, ‘लाल सिंह चड्ढा’को प्रदर्शनमा रोक लगाउनुपर्ने माग गर्दै कोलकाता उच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता नाजिया इलाही खानले फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै जनहित याचिका दायर गरेका हुन्।
रिटमा फिल्ममा देखाइएका दृश्यले शान्ति सुव्यवस्थामा खलल पुर्याउने दाबी गर्दै पूरै पश्चिम बंगाल राज्यमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको छ। यदि ‘लाल सिंह चड्ढा’को प्रदर्शनमा रोक नलगाए हरेक सिनेमा हल अगाडि प्रहरी तैनाथ गर्नुपर्ने अवस्था आउने समेत रिट निवेदकले चेतावनी दिएका छन्।
रिटमाथिको सुनवाई मंगलबार नै हुने जनाइएको छ।