प्रशरीकाे चरण, 'एकादेशको फल आँखातरी मर’

काठमाडाैं । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ । त्यस्ता उजुरीको निरीक्षणालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको नेतृत्वमा रहेको टोलीले स्थलगत छानबिन तथा अनुसन्धान गरी सख्त चेतावनीदेखि निलम्बनसमेत गर्ने गरेको बताइएको छ तर पनि समस्या ज्यूँका त्यूँ छ ।

यसै भएर गृहमन्त्री बालकृष्ण खाणले गत कात्तिक ५ गते प्रहरी सङ्गठनभित्र सम्मानार्थी भाषा प्रयोग गर्न निर्देशन दिनुभएको थियो तर प्रहरी सङ्गठनभित्र मात्र होइन प्रहरीले आम नागरिकका लागि प्रयोग गर्ने बोली पनि सम्मानपूर्ण हुँदैन । त्यस्ता निर्देशनले धेरैजसो हाकिम (उच्च अधिकृत)लाई नछुने भएकाले नै यस्तो समस्या देखिएको चर्चा प्रहरी सङ्गठनभित्रै हुने गर्दछ । सुरक्षा निकायको ‘चेन अफ कमान्ड’ अनुसार, ‘सुधार र परिवर्तन’ नेतृत्व तह (माथि)बाट सुरु हुनुपर्छ तर यस्ता निर्देशन तल्लो तहका कर्मचारीलाई बढी लक्षित हुने भएकाले प्रभावकारी हुन नसकेको हो ।

प्रहरी सङ्गठनभित्र माथिल्लो तहका अधिकृत कर्मचारीले तल्लो तहका कर्मचारीलाई गर्ने बोली व्यवहार परिवर्तन गरी ‘तँ’ र ‘तिमी’ जस्ता शब्द प्रयोग नगर्न नगराउन गृह मन्त्रालयले पनि निर्देशन दिएको छ तर त्यसको जानकारी नै तल्लो तहमा पुग्दैन । “यतिसम्म हुन्छ कि आचरण सुधार र बोली व्यवहार परिवर्तनसम्बन्धी निर्देशन केन्द्रबाट पटक पटक जारी हुन्छन् तर तल्लो तहका कर्मचारीलाई भने त्यसको जानकारी नै हँुँदैन” प्रदेश प्रहरी तालिम केन्द्रका एक सुवेदार मेजर (प्रहरी नायब निरीक्षक)ले भने– “हामीले पनि पत्रपत्रिका पढेर थाहा पाउने हो ।”

सुवेदार मेजर कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृत प्रहरी नायब निरीक्षक (सई) सम्मका प्रहरी कर्मचारीको ‘कमान्डर’ हो । नाम उल्लेख नगर्ने सर्तमा उनले थपे–“आचरण सुधार र बोली व्यवहार परिवर्तन तल्लो तहभन्दा हाकिमबाट सुरु गर्नुपर्छ ।”

आधारभूत प्रशिक्षणका क्रममा तालिम केन्द्रहरूमा गुरुबा (प्रशिक्षक)ले सिकाएको रुखो र तुच्छ भाषा तथा वरिष्ठ हाकिमले कनिष्ठ कर्मचारीलाई नियमित काम कारबाहीमा प्रयोग गर्ने बोली व्यवहार आफैँमा त्रुटिपूर्ण देखिएको छ । अर्थात् प्रहरीमा प्रवेशदेखि नै भाषिक समस्या हुन्छ । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल भाषा र बोली व्यवहारमा सामन्ती संस्कार तथा व्यक्तिको स्वभाव झल्किने भएकाले यस्ता कुरालाई प्रहरी सङ्गठनका सदस्यहरूबाट टाढै राख्न पटक–पटक निर्देशन हुने गरेको बताउँछन्। गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×