क्यानडालाई हराउँदै मोरक्को समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश

काठमाडौँ - समूहको अन्तिम खेलमा बिहीबार क्यानडालाई ३-१ ले पराजित गर्दै मोरक्को समूह एफको विजेता बनेर कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

साविक उपविजेता क्रोएसिया, बेल्जियम जस्ता टिम रहेको समूह एफमा अपराजित रहँदै मोरक्कोले ७ अंक जोड्यो। अल थुमामा रंगशालमा भएको खेलमा मोरक्कोका लागि हाकिम जिउचले खेलको चौथो मिनेटमै गोल गरेका थिए भने युसुफ एन नेस्रीले २३औं मिनेटमा गोल गरेका थिए।

क्यानडाले आत्मघाती गोल उपहार पाउँदा गोल अन्तर घटाएको थियो। तर गोल फर्काउन सकेन।

मोरक्कोका नाएफ अगुएर्डले ४०औं मिनेटमा आत्मघाती गोल गरेका थिए। यो गोल जारी विश्वकपको पहिलो आत्मघाती गोल हो। यस्तै कतार विश्वकपको १ सयौँ गोल समेत यही गोल बाट पूरा भएको छ।

क्यानडा समूहमा सबै ३ खेल हार्दै बाहिरिएको छ। १९८६ पछि पहिलो पटक नकआउट चरणमा पुगेको मोरक्कोले अब अन्तिम १६ मा समूह इ को उपविजेतासँग खेल्नेछ।

मोरक्को ३६ वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको हो। सन् १९८६ मा इंग्ल्याण्ड, पोर्चुगल र पोल्याण्ड जस्ता टिम रहेको समूहमा मोरक्को अपराजित रहेर समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो। तर, पश्चिम जर्मनीसँग पराजित हुँदै बाहिरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×