काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ। यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।
भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो। प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो। निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ। यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ। यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ। कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्य सबै पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्याँसको मूल्य भने घटेर आएको हो।