काठमाडौ- लखनऊ सुपर जायन्ट्सका कप्तान केएल राहुलले इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार रातिको खेलमा मुम्बई इन्डियन्सविरुद्ध शतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन्।
वान्खडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गर्नेक्रममा राहुलले ६२ बलमा १२ चौका र ४ छक्काका साथ १०३ रनको अविजित पारी खेलेका थिए। १६ अप्रिलमा भएको पहिलो भेटमा पनि राहुल मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्कासहित १०३ रनमै अविजित रहेका थिए।
त्यस्तै, उनले सन् २०१९ मा वान्खडेमै पन्जाब किंग्सबाट मुम्बईवीरुद्ध ६४ बलमा समान ६ चौका र छक्कासहित १०० रनको अविजित शतकीय पारी खेलेका थिए। राहुल मुम्बईलाई भारी पर्दै आएका छन्। राहुलले मुम्बईविरुद्ध १६ पारीमा ३ शतक र ५ अर्धशतकसहित ८६७ रन बनाएका छन्।
लखनऊ सुपर जायन्ट्सको जीत सँगै मुम्बईको लगातार आठौँ हार भएको हो।