रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं - रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । रुसी सेनामा आवद्ध नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

त्यस्तै, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पुनःअनुरोध गरिएको मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ ।

रुस युक्रेन युद्धमा संलग्न ४ जना नेपाली बन्दी अवस्थामा रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाएअनुसार बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतिक पुन बेपत्ता छन् ।

युक्रेनमा बन्दी बनाइएका चार जनालाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्नबाहेक अरु नेपालीले रुस यात्रा गर्नुपरेमा ‘नो अब्जेक्सन लेटर’ लिएरमात्र जान आग्रह गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×