काठमाडौँ - म्याग्दीका किसानले लगाएको गहुँबालीमा पहेँलो र खैरो सिन्दुरे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्।
कृषि प्राविधिकका अनुसार गहुँमा लाग्ने सिन्दुरे रोग एक प्रकारको ढुसीजन्य रोग हो। यो रोग हावाको माध्यमाबाट सर्ने गर्छ। विगत वर्षमा गहुँबालीमा डढुवा रोग देखिने गरेकामा यसवर्ष सिन्दुरे रोगको प्रकोप देखिएको जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कतै पहेँलो त कतै खैरो सिन्दुरे रोगले गुहँबालीमा क्षति पुर्याउन थालेपछि किसानले विषादीको प्रयोग गर्न थालेका छन्। ढुसीका कारण गहुँबालीमा यो रोग देखापर्ने प्राविधिकको भनाइ छ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार हाल सिफारिसमा आएका हिमगङ्गा, भेरी गैगा, मुडुले १, खुमल शक्ति, जिङ्क गहुँ १, जिङ्क गहुँ २ गहुँका जातमा सिन्दुरे रोग कम देखिएको छ। जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, सिमलचौर, मालिकालगायतका क्षेत्रमा लगाएको गहुँबालीमा बोट मर्ने, पात सुक्ने जस्ता रोग देखिएपछि किसान चिन्तित बनेका हुन्। उता यहाँका किसानले गरेको व्यावसायिक केरा खेतीमा दुईवर्ष अघिदेखि लागेको गवाँरो रोगको प्रकोप नियन्त्रणमा आउन नसक्दा केरा खेती गरेका किसानले हैरानी व्यहोर्न बाध्य भएका छन्।
गतवर्षको चैत साउनमा पनि केरामा गवारो रोग लागेर कोसा लाग्ने बेलाका केराका बोट सुकेका थिए । गत साउनमा पनि खपटे घुन र गवारो रोगले क्षति पुर्याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनःरोग फैलिएपछि यहाँ केरा खेती गरेका किसान चिन्तित बनेका बेनी नगरपालिका– २ खबराका किसान शोभित शर्मा सापकोटाले बताए। उनले लगाएका ६०० केराका बिरुवामध्ये ६० भन्दा बढी गवारो रोगका कारण मरेका छन् पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका बेनी नगरपालिका– २ बगरफाँटका किसान बेदप्रसाद उपाध्यायले जानकारी दिए।
केरा गाउँको रूपमा परिचय बनाएको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा खपटे घुन र गवारो रोगले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन्। केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन्। उनले सात रोपनी क्षेत्रफलको जग्गामा केरा खेती गरेका छन्। खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको किसान कार्कीले बताए। यहाँका किसानले धान फल्ने खेतमा केरा खेती सुरु गरेका हुन्। सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवारोले व्यावसायिक केरा खेतीमा ठूलो क्षति पुर्याएको उनको भनाइ छ।
बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ। केरा बेचेर खबरामा वार्षिक रु ५० लाख भन्दा बढी भित्रिने गरेको छ।