काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
गृह मन्त्रालयले यसअघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई अनअराइभल भिसा नदिन अध्यागमन विभागलाई निर्देशन दिएको थियो। एक मन्त्रीका अनुसार पछिल्लो समय ओमिक्रोनको जोखिम झन् झन् बढ्न थालेपछि गृह मन्त्रालयले अध्यागमन विभागसँग छलफल गरेर जोखिम रहेका देशबाट आउने यात्रुहरुलाई रोक लगाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो।
दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अहिले विश्वका दुई दर्जन बढी देशमा देखा परिसकेको छ। छिमेकी देश भारतमा पनि ओमिक्रोन भेरियन्टका दुई जना संक्रमित भेटिएको पुष्टि भएपछि नेपालमा थप चिन्ता बढेको छ ।