सप्तरी - शिवरात्रिको अवसरमा सप्तरीको शिवालयमा आज बिहानेदेखि हिन्दू धर्मावलम्बिहरुको पूजापाठका लागि भीड लागेको छ।
जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको शम्भुनाथ महादेव मन्दिरमा पूजाआजाका लागि सर्वसाधारणको भीड लागेको छ। आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मीठाइ तथा फलफूसहित रङ्गिचङ्गी लुगा लगाइ महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शिव मन्दिरमा पूजाआजाका लागि लामबद्ध छन्।
पूजापाठको लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत सहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी सो मन्दिरमा आएका छन्। त्यस्तै राजविराज नगरपालिका नजिकैको नन्देश्वर महादेव मन्दिरमा हजारौको सङ्ख्यामा भक्तजन लाइनमा बसेर पूजाआजा गरिरहेका छन्। महादेव गाउँपालिकास्थित शिव मन्दिर, हनुमानगर कङ्कालनी नगरपालिका– २ सकरदहीमा रहेको महादेव मन्दिर तथा कञ्चरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर पनि भक्तजनको भीड लागेको छ।