सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक

काठमाडौँ - सञ्चारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक गरिएको छ। ज्ञवालीले छिट्टै प्रदर्शन हुन लागेको सर्टफिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

सार्वजनिक टिजरमा व्यस्त आमाबाबुबाट समय नपाउँदा सन्तानमा हुने मनोभावलाई प्रस्तुत गरिएको छ। सर्टफिल्मले व्यस्तताका कारण सन्तानप्रति समय नदिने आम अभिभावकको कथा चित्रण गरेको टिजरबाट बुझ्न सकिन्छ।

फिल्ममा अभिनेता आमिर गौतम, सुरवीना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, श्रृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कँडेललगायतको अभिनय रहेको छ।

‘यो कथा एउटा मात्रै परिवारको होइन, धेरै परिवारमा भइरहेका घटना हो, जसलाई काल्पनिक रूपमा प्रस्तुत गरिएको हो’, निर्देशक ज्ञवाली भन्छन्, ‘सार्वजनिक भएपछि फिल्म हेर्ने दर्शकले आफ्ना बच्चाबच्चीप्रति कतिसम्म हेलचेक्र्याइँ गरिएको रहेछ भन्ने महसुस गर्नेछन्।’रामजीलाई कथा लेखनमा आर्यन अधिकारीले साथ दिएका छन्।

सन्जितकुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारी निर्माता राजेशकुमार शाह हुन्। राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सर्ट फिल्म ‘आराध्या’मा कलर संयोजन राजेन्द्र मोक्तान, योगेश काजीको ब्याकग्राउण्ड म्युजिक, नहकुल खड्काको सम्पादन रहेको छ। चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन्।

ज्ञवालीले ‘एक लभर’, ‘डार्क मुन’, ‘हनिमुन’, ‘लकडाउन’लगायतका एक दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका छन्। ‘आराध्या’लगत्तै अर्को सर्टफिल्मको तयारीमा लाग्ने ज्ञवालीले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×