काठमाडौँ। वैशाख शुक्ल तृतीयाका दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका हुन्।
ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ। पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि माता जीवित भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। आमा मारेको कुरा अरुले थाहा नपाऊन् भनी सो वर मागेको उल्लेख गरिएको छ।
अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गरेका थिए। क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उहाँले जन्म लिएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन्। राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गरेका थिए भन्ने वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको छ।