काठमाडौँ- रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगाको रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको डेपोर्टिभो अलाभेसलाई ३–० ले हराएको छ। जितसँगै रियालले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ।
कार्लो एन्सेलोट्टीको टिम रियालले पहिलो हाफमा गोलको राम्रो अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरेपछि रियालले सहज नतिजा हासिल गर्यो। ६३औं मिनेटमा बेन्जेमाको पासमा मार्को एसेन्सियोले गरेको गोलबाट रियालले अग्रता लियो। ८०औं मिनेटमा बेन्जेमाकै पासमा भिनिसियस जुनियरले रियालको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा बेन्जेमाले पेनाल्टीमा अर्को थपेपछि रियालले सहजै तीन अंक जोड्न सफल भयो।
जितपछि रियालले २५ खेलबाट ५७ अंक जोडेको छ। जुन दोस्रो स्थानको सेभियाभन्दा सात अंकले माथि हो। सेभियाले एक खेल कम खेलेको छ। पराजित डेपोर्टिभो अलाभेस भने २० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।