काठमाडौँ - इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन्। सोमबार ट्वीटरमा एक पोस्ट लेख्दै उनले सन्यासको घोषणा गरेका हुन्। स्टोक्सले अब आफ्नो सम्पूर्ण ध्यान टी-२० फरम्याटमा हुने बताएका छन्।
उनले ट्वीटमा लेखेका छन्, ‘म इंग्ल्याडको लागि आफ्नो अन्तिम एकदिवसीय क्रिकेट खेल मंगलबार डरहममा खेल्दैछु। मैले यो शैलीमा सन्यास लिने निर्णय गरेको छु। यो निर्णय मेरो लागि पनि एकदमै कठिन हो। मैले इंग्ल्याण्डको टीममा आफ्नो साथीहरूको साथ हरेक मिनेटको खेल मन पराएको छु।’
३१ वर्षीय स्टोक्सले आफ्नो अन्तिम एकदिवसीय खेल मंगलबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछन्। १ सय ३ एकदिवसीय खेल खेलेका उनले आफ्नो एकदिवसीय करियरको समापन गर्न लागेका हुन्।
स्टोक्सले सबैभन्दा सम्झनलायक क्षण भनेको २०१९ को विश्वकपको फाइनल थियो। जहाँ उनले न्यूजिल्याण्डविरुद्ध ८४ रन बनाएर खेललाई सुपरओभरमा पुर्याएका थिए। पछि इंग्ल्याण्डले पहिलो विश्वकप जितेको थियो, जसमा स्टोक्स प्लेयर अफ दि म्याच भएका थिए।