काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा परमानन्द संस्कृत गुरुकूल पुनःसञ्चालनका लागि रु. एक करोड ३० लाख सङ्कलन भएको छ।
विसं २०५८ सालमा बन्द भएको पाठशाला सञ्चालनका लागि धार्मिक महोत्सवको तयारी भइरहेका बेला पाठशालाका लागि दाताहरुले सहयोग जुटाएका हुन्। पाठशाला पुनःसञ्चालनका लागि आगामी माघ १ देखि ७ गतेसम्म बिहुँकोटको रामकोट मन्दिरमा धार्मिक महोत्सवको आयोजना गरिएको छ। महोत्सवको पूर्वतयारीकै क्रममा उक्त रकम सङ्कलन भइसकेको मूल आयोजक समितिका सहसंयोजक गौरीशङ्कर शर्माले बताए। उनले मूल आयोजक समितिले देश–विदेशमा रहेका दाताले उक्त रकम मूल आयोजक समितिलाई उपलब्ध गराइसकेको जानकारी गराए। धार्मिक महोत्सवबाट रु चार करोड बढी रकम सङ्कलन गर्ने लक्ष्य राखिएको छ।
महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अनुसार विगतको सस्शत्र द्वन्द्वताका गुरुकुल पाठशाला बन्द भएको थियो। रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा गुरुकुल सञ्चालनमा आएको थियो। समाजकै परिकल्पना र सङ्कल्पमा धार्मिक महोत्सव आयोजना हुन लागेको संस्थाका अध्यक्ष देवीलाल सुवेदीले बताउनुभयो । महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ विभाग गठन गरी कामको जिम्मेवारी दिइएको छ।
महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने आयोजकको दाबी छ। महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाइ छ। गुरुकुल पुनःसञ्चालनको पवित्र उद्देश्य राखेर महोत्सव गरिनु सुखद् रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए। संस्कृत पाठशालाले सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ।