काठमाडौँ - ओमिक्रोन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा लागू गरिएका सबै प्रकारका प्रतिबन्ध शनिबारबाट लागू हुने गरी हटाइएको छ। शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
तीनवटै जिल्लाले अलग–अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी दिइएको छ। कोरोना संक्रमण फैलिएसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले विगतमा विभिन्न समयमा प्रतिबन्ध लगाएको थियो। उपत्यकामा माघ २३ गतेबाट स्मार्ट लकडाउन लागू गरिएको थियो।