धादिङ। बेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ। २०७८ मङ्सिर १५ गते आएको “काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका” शीर्षकको समाचार प्रकाशित भएपछि गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट, जुत्ता र मोजा उपलब्ध गराएका हुन्। प्रजा आधारभूत विद्यालय सिमथलीमा गाउँपालिकाका अध्यक्षले उक्त कपडा वितरण गरेका थिए। कसैको घरमा पनि वर्षभर खानपुग्ने अन्न नहुने सिमथली र आसपास क्षेत्रका चेपाङ समुदाय गरिबीसँग सङ्घर्ष गर्दै आइरहेका छन्। गाउँपालिकाले ‘अध्यक्षसँग बालबालिकाको न्यानो माया’ कार्यक्रम अन्तर्गत रु २० लाख खर्चेर एक हजार ५०३ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताए। सामाजिक विकास शाखाको निर्णय बमोजिम सीमान्तकृत चेपाङलगायत गरिब दलित बालबालिका अध्यायन गर्ने उक्त विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई जाडोबाट बचाउन कपडा वितरण गरिएको शिक्षा शाखाका बोधराज पाठकले बताए। गाउँपालिकामा रहेका ६९ विद्यालयमध्ये अब २६ विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिने जनाइएको छ।