बागलुङमा आन्तरिक पर्यटकको चहलपहल

काठमाडौँ - कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ।

फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन्। मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दसैँमा कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ। चार दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि बागलुङ कालिका दर्शनका लागि एक दिन बागलुङलाई छुट्याएर आएको चितवन भरतपुरका पर्यटक सुन्दरकुमार बरालले सुनाए। उनले सामाजिक सञ्जालमा देखेको लामो पुल, पञ्चकोट लगायतका स्थानले अफूलाई बागलुङ आउने प्रेरित गरेको बताए। अहिले जिल्लामा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ।

भरतुपर महानगरपालिका–२ क्षेत्रपुर चितवनको मितेरी आमा समूह, चितवनकै बिस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र धादिङ जिल्लाको श्री विशाल आमा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाहरू बस लिएरै बागलुङ बागलुङ भ्रमणमा आएका छन्। यस्ता सामाजिक तथा सङ्घसंस्थाहरू दैनिक सयौँको सङ्ख्यामा बागलुङ आउन थालेका छन्। अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरूको चाप थेगिनसक्नु छ। चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको पर्यटन व्यवसायी बताउँछन्। 

बागलुङको धार्मिक पर्यटकीय क्षेत्रमा अहिले पर्यटकको घुइँचो नै लाग्ने गरेको पाइएको छ। बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र लामो झोलुङ्गे पुलमा पर्यटकको चाप बढेको पाइएको छ। चैते दसैँ सुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकहरू समेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेको पाइएको छ। कोरोनाले दुई वर्षदेखि रोकिएको ऐतिहासिक चैत्राष्टमी मेलाको तयारीसमेत गरिएको छ। बागलुङको चैत्राष्टमी मेला नेपालमै प्रसिद्ध मेलामध्येको एक हो। चैत २४ देखि २८ गतेसम्म चैत्राष्टमी मेलाको आयोजना गरिएको र अहिले यसको तयारीले तीव्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

यही चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटलहरू भरिभराउ भएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तथा बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×