काठमाडौँ - फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जुन महिनाको राष्ट्रिय पुरुष टोलीको वरीयता सार्वजनिक गरेको छ। वरीयताअनुसार नेपालले एकैपटक आठ स्थान गुमाएको छ। फिफाका अनुसार नेपाल १७६औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १६८औँ स्थानमा रहेको थियो।
एएफसी एसिया कप २०२३ छनोट प्रतियोगिताअन्तर्गत कुवेतमा भएको तेस्रो चरणमा नेपालले खराब प्रदर्शन गरेको थियो। कुवेत, जोर्डन तथा इन्डोनेसियासँग नेपाल फरकिलो अन्तरले पराजित भएको थियो। सो प्रतियोगितामा नेपालले १३ गोल व्यहोरेको थियो। नेपालले कुवेतविरुद्ध चार दशकपछि एक गोल गरेको थियो।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर १० खेलाडीबीच विवाद हुँदा यसको प्रत्यक्ष असर छनोट प्रतियोगितामा परेको थियो। प्रशिक्षक अब्दुल्लाहले छनोट प्रतियोगितामा सिनियर १० खेलाडीलाई बाहिर राख्दै जुनियर १७ खेलाडीलाई मौका दिएका थिए।
एसिया कप छनोटमा लगातार तीन खेलमा पराजित भएपछि नेपालले जुन महिनाको वरीयतामा २८.४१ अंक गुमाउको छ। नेपालले समग्रमा ९५० अंक प्राप्त गरेको छ। दक्षिण एसियामा भारत शीर्षस्थानमा रहेको छ।
भारतले वरीयतामा दुई स्थान सुधार गरेको छ। भारत १०४औँ स्थानमा रहेको छ। समग्रमा भारतले ११९८ अंक जोडेको छ। दक्षिण एसियाली राष्ट्र माल्दिभ्स १५६औँ स्थानमा रहेको छ। माल्दिभ्सले १०१८ वरीयता अंक हात पारेको छ। यस महिनामा माल्दिभ्सले ७ अंक गुमाएको छ।
भुटान १८६औँ स्थानमा रहेको छ। बंगलादेशको कुनै स्थान परिवर्तन भएको छैन। बंगलादेश १९२औँ स्थानमा रहेको छ। बंगलादेशले २० अंक गुमाएको छ। पाकिस्तान १९६औँ र श्रीलंका २०७औँ स्थानमा रहेको फिफाले जनाएको छ। विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा रहेको छ। ब्राजिलले १८३७ वरीयता प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको बेल्जियमले १८२१ अंक जोडेको छ।
तेस्रो स्थानमा अर्जेन्टिना छ। अर्जेन्टिनाले १७७० वरीयता अंक हात पारेको छ। विश्व विजेता फ्रान्स चौथो स्थानमा झरेको छ। फ्रान्सले १७६४ अंक बटुलेको छ।
इंग्ल्यान्ड पाँचौँ स्थानमा रहँदा स्पेन छैटौँ स्थानमा उक्लिएको छ। इटालीको वरीयता खस्कँदा नेदरल्यान्ड आठौं स्थानमा रहेको छ। पोर्चुगल नवौँ स्थानमा रहँदा डेनमार्क शीर्ष १० मा रहेको छ । चारपटकको विश्व च्याम्पियन जर्मनी ११औँ स्थानमा रहेको छ।