काठमाडौँ - हलिउडको बक्स अफिस आकार ५.६ बिलियन डलर मानिन्छ। यो हिसाबलाई आधार मान्दा अमेरिकी फिल्म उद्योगले सेप्टेम्बरसम्म ४.५ बिलियन डलर कमाइसकेको छ। तर यो कमाइ सन् २०१९ मा हलिउडले कुल कमाएको ११.४ बिलियन डलरको आधा मात्र हो।
अंग्रेजी वर्ष २०२२ को चौथो चौमासिक सुरु भएको छ र ठूलै आशा राखिएका फिल्म प्रदर्शनको तयारीमा छन्। यी फिल्मले हलिउडलाई कोरोना महामारीअघिकै अवस्थामा फर्काउन सक्ने आशा राखिएको छ। तर प्रश्न उठ्छ- के आशा राखिएका यी फिल्मले अपेक्षा पूरा गर्लान्?
भेराइटी म्यागजिनका अनुसार डिसेम्बरसम्म प्रदर्शन हुने ४ फिल्मले उच्च कमाइ गर्न सक्छन्। जसमा पुस १ गते रिलिज हुने तयारीमा रहेको जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’ले उच्च कमाइ गर्न सक्छ। डिज्नेको ‘ब्ल्याक प्यान्थर’ सिक्वेल, वार्नर ब्रोजको डीसी सुपरहिरो फिल्म ‘ब्ल्याक आडम’ र युनिभर्सलको फिल्म ‘हलोइन’ सिक्वेलले हलिउडलाई संकटबाट उद्दार गर्ने आशा गरिएको छ।
भेराइटीका अनुसार ‘अवतार २’ ले उत्तर अमेरिकी बक्स अफिसमा ६५० मिलियन डलर कमाउन सक्छ। यो कमाइ सन् २००९ मा रिलिज भएको अवतारको पहिलो भागबाट न्यून हुने अनुमान छ। अवतारको अघिल्लो भागले बक्स अफिसमा उत्तर अमेरिकामा ७७२ मिलियन डलर कमाएको थियो।
ड्वेन रक जोन्सन स्टारर फिल्म ‘ब्ल्याक आडम’ले ३२८ र वाकान्डा फरेभरले ४२३ मिलियन डलर कमाउने प्रक्षेपण छ। युनिभर्सलको हलोइनले १३० मिलियन डलर कमाउने आशा गरिएको छ। चौथो त्रैमासिकमा रिलिज हुने अपेक्षा गरिएका यी ४ फिल्मले थोरै भए पनि हलिउडलाई संकटको गहिरो खाडलबाट बाहिर निकाल्ने अपेक्षा गरिएको छ।