काठमाडौँ - घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ। गएरातिको खेलमा न्यूजिल्याण्ड १६ रनले विजयी भएको हो।
१४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्र बनायो। उसका लागि बास डि लिडेले ६६ रनको अर्धशतकीय पारी खेलेका थिए। उनले ५३ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए।
कप्तान स्कट एडवर्ड्सले २० र रायन क्लेनले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्यूजिल्याण्डका लागि ब्लेयर टिकनरले ४, बेन सियर्सले ३ तथा कप्तान मिचेल सान्टनर र ईश सोधीले १/१ विकेट लिएका थिए।
त्यसअघि द हेगस्थित स्पोर्ट्सपार्क वेस्टभ्लाइटमा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।
पाहुना टोलीका लागि मार्टिन गुप्टिलले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। जेम्स निशमले ३२, ईश सोधीले १९, डारियल मिचेलले १५ र ग्लेन फिलिप्सले १४ रन जोडेका थिए।
नेदरल्याण्ड्सका लागि क्लेटन फ्लोयड, लोगन भान बिक, शरिज अहमदले २/२ तथा टिम प्रिन्गल र रायन क्लेनले १/१ विकेट हात पारेका थिए। यो जितसँगै न्यूजिल्याण्डले दुई खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो तथा अन्तिम खेल शुक्रबार हुँदैछ।