काठमाडौँ - क्यामरुनको एभिनियर क्लब पोखरामा जारी छैटौं हेम्जा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार हेम्जास्थित गौरीशंकर खेलमैदानमा भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ गोल अन्तरले हराउँदै एभिनियर फाइनलमा प्रवेश गरेको हो।
हेम्जा युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगिताको चौथो मिनेटमा नै चर्चब्वाइजले पहिला अग्रता लिएको थियो। चर्च ब्वाइजका कप्तान मिलन राईले हेडमार्फत गोल गरेका थिए। चर्च ब्वाइजले फ्रिकिकमा गोल गरेको हो।
त्यसको तीन मिनेटपछि सामेसामेले प्रहार गरेको बलले विवेक पौडेलको हातमा लागेपछि सातौँ मिनेटमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो। एभिनियरका आनिसेले उक्त पेनाल्टीको सदुपयोग गर्दै सहजै गोल गरेका थिए। यसअघि छैटौं मिनेटमा एभिनियरका सामेसामेकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए। २१औं मिनेटमा एभिनियरले पाएको फ्रिकिकको सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्नबाट चुकेको थियो। खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो ।
दोस्रो हाफमा भने एभिनियर खेलमा हाबि भएको थियो। खेलको ५१औं मिनेटमा चर्च ब्वाइजका दिनेश राजवंशीले एभिनियरका स्टेफनलाई लगाएपछि विवाद भएको थियो। मुख्य रेफ्री सन्तोष गुरुङले उनीहरू दुवैलाई रातो कार्ड दिएका थिए। त्यसपछि, दुवैटोली १० खेलाडीमा सीमित भएका थिए। दोस्रो हाफमा चर्च ब्वाइजलाई निकै दबाबमा राखेको एभिनियरका लागि साङ्गले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे। उनले ७६औं मिनेटमा २ डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए।
उनी खेलको ‘म्यान अफ दि म्याच’ समेत घोषित भए। एभिनियरले यसअघि एपीएफ क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
जितसँगै एभिनियरले उपाधिका लागि आयोजक हेम्जा युनाइटेडसँग भिड्नेछ। आयोजक हेम्जाले क्वार्टरफाइनलमा वीरगञ्ज युनाइटेडलाई र सेमिफाइनलमा खुमलटार युथ क्ल्बलाई २-० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। उपाधि भिडन्त शनिबार हुनेछ। विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।