प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबलका कृषकको दिन

काठमाडौँ - प्रधानमन्त्री कृषि परियोजनाले झापाका विभिन्न गाउँका कृषकहरूको दिन फेरिएको छ। 

झापाकै कचनकबलका एक कृषक परियोजनाका कारण आफ्नो दिन फेरिएको बताउँछन्। हरेक बिहान कचनकबलका किसान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्छन्। घमाइलो भएपछि सौर्य विद्युतबाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्छन्। यतिबेला उनको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक छ। बीउ काड्ने र रोप्ने खेताला भेला भएपछि रोपाइँ सुरु हुन्छ।

कचनकबल–४ फेर्कागाछी निवासी ४३ वर्षीय कनहैयालाल मात्र होइन नेपालकै होचो पालिकाको रूपमा चिनिएको दक्षिणी झापाको कचनकबलको हरेक बस्तीमा यतिबेला सोलार र मोटर सिँञ्चाइ गरेर हिउँदे धान रोपाइँ चलिरहेको छ। किसान काममा व्यस्त छन्। गाउँतिर जताततै खेत जोत्न ट्र्याक्टर, पावर टिलरलगायतका आधुनिक कृषि उपकरण प्रयोग भइरहेका छन्। कनहैयालाल र उनको पालिकामा पाँच वर्षअघिसम्म एक बाली मात्र खेती हुन्थ्यो। तर, अहिले तीन बाली उत्पादन भइरहेको छ। २०७३ सालमा सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेपछि कचनकबलको खेती प्रणाली फेरिएको हो। 

नेपाल सरकारले परियोजनासँगै झापाको कचनकबल गाउँपालिकालाई धान सुपरजोन घोषणा गरेर निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउने कार्यक्रम ल्यायो। न्यूनतम् एक हजार हेक्टर क्षेत्रफलमा सञ्चालन भएको बाली विशेषको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक एकाइलाई सरकारले सुपरजोन घोषणा गर्दै आएको छ। 

समूहमा खेती गर्न प्रोत्साहित गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई ८५ प्रतिशतसम्म अनुदानमा आधुनिक कृषियन्त्र वितरण गरेको हो। पाँच वर्षमा अहिले सिङ्गो पालिकाको कृषि उद्यममा आमूल परिवर्तन आएको छ। हाल झापाको कचनकबलका सात वटै वडामा धान सुपरजोन लागू भएको छ भने झापा जिल्लाका १५ वटै पालिकाका आंशिक वडामा यसलाई विस्तार गरिएको छ। परियोजना अन्तर्गत जिल्लाका केही पालिकामा मकै, रबर र सुपारी जोन समेत लागू भएको छ।

कनहैयालाल गणेशको १३ जनाको सगोल परिवार छ। करिब ६ बिघा जग्गामा धान, मकै, तोरी, आलु र अरु तरकारीखेती गरिररहेको उनले बताए। पूरै परिवार दिनभर खेतीको कामबाट फुर्सद् नपाउने अवस्था छ। धान सुपरजोन अवधारणा लागू भएपछि उनकै अध्यक्षतामा स्थानीय ८३ परिवारले हरित कृषि समूह गठन गरेर पहिलोपटक सामूहिक खेती सुरु गरेका थिए। विसं २०७३ पुस १९ गते सुपरजोनको उद्घाटन भएको थियो। पाँच वर्षमा अहिले पूरै पालिकाभर कृषिमा आधुनिक यान्त्रिकरण भइसकेको छ। जुवामा हलो नारेर खेत जोत्ने कुरा कथा जस्तो हुन लागिसकेको छ।

हरित कृषि समूहसँग अहिले एउटा धान रोप्ने मेसिन, एउटा बीउ राख्ने मेसिन, तीन सोलार सिँञ्चाइ, पाँच  पावर टिलर, एउटा मिनी टिलर, एउटा धान काट्ने मेसिन, १६ मोटर सिँञ्चाइ र एउटा समूह नर्सरी भवन रहेको अध्यक्ष गणेशले जानकारी दिए। समूहले ६० बिघा जग्गामा तीन बालीखेती गरिरहेको छ। जग्गा हरेक परिवारको निजी भए तापनि खेती गर्दा सामूहिक रुपमा यन्त्रको प्रयोग, समूहबाटै मल र बीउ खरिद र समूहकै बलमा बिक्री गर्ने प्रणाली बसाइएको उनको भनाइ छ। यसबाट सामूहिक खेती प्रणाली विकसित भइरहेको देखिन्छ।

“प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आउनुभन्दा अघि हाम्रो खेतमा एकबाली मात्र फल्थ्यो,” कचनकबल–४ फेर्कागाछीका किसान लक्षुमन गणेश भन्छन्, “समूहमाखेती गर्दा फाइदै फाइदा भएको छ। मान्छेले भन्दा बढी मेसिनले काम गरिरहेको छ।” उनले १० कठ्ठामा हिउँदे धान लगाइरहेको र त्यो धान आउँदो वैशाखमा फल्ने बताए।

सुपरजोन आउनुअघि बर्खामा पानी जमाउन सक्दा एकबाली धान हुने गरेको नत्र वर्षैभरि खेत बाँझो राख्ने गरेका कचनकबलका यी किसानहरूले हाल एक बालीमा एक बिघामा ११० मनसम्म धान फलाउने गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×