काठमाडौँ - यो वर्षको युएस ओपन टेनिसमा महिला र पुरुष दुबैतर्फ नयाँ च्याम्पियन बन्न सफल भएका छन्। यसअघि महिलातर्फको उपाधि इगा स्वेटेकले जित्दा पुरुषतर्फ भने १९ वर्षीय कार्लोस अल्काराजाले जितेका छन्।
उनले नर्वेका कास्पर रुडलाई पराजित गर्दै करिअरको पहिलो ग्रान्डस्लाम आफ्नो नाममा पारेका छन्। न्युयोर्कमा भएको फाइनलमा स्पेनिस कार्लोसले ६-४, २-६, ७-६ (७-१) र ६-३ को सेटमा जित हासिल गरेका थिए। ३ घन्टा २० मिनेट लामो भिड्न्तमा जितसँगै कार्लोस एटिपी वरीयतामा नम्बर १ मा पुगेका छन्।
पछिल्लो १७ वर्षमा अल्काराज सर्वाधिक कम उमेरमा ग्रान्डस्लाम जित्ने खेलाडीसमेत बनेका छन्। त्यस्तै, युएस ओपनमा भने उनी ३२ वर्षयता कम उमेरमा उपाधि जित्ने खेलाडी बनेका छन्। यसअघि १९९० मा अमेरिकाका पीट संप्रासले १९ वर्षकै उमेरमा युएस ओपन जितेका थिए।
२००५ मा १९ वर्षको उमेरमा नै राफेल नाडालले फ्रेन्च ओपन जित्दै सर्वाधिक कम उमेरमा ग्रान्डस्लाम जितको कीर्तिमान बनाएका थिए।
अल्काराज गत वर्ष युएस ओपन टेनिसमा क्वटारफाइनलबाट बाहिरिएका थिए।