बाँके - बाँके र बर्दियामा डाँका चोरी गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा २६ वर्षीय डब्लु मनिहार र २८ वर्षीय निजामुद्दिन कबडिहा रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय खुद्रा खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले शनिबार कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका भारतीय नागरिकले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितलबजारका पर्शुराम सार्कीको घरमा पेस्तोल देखाएर शनिबार बिहानी पख तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बतायो।
त्यसै गरी माघ १७ गतेपनि यही समुहले बाँकेको खजुरा गाउँपालिका ‘डी’ गाउँका हरिप्रकाश विकको घरमा पेस्तोल देखाउर नगद ५० हजार, तीन तोला पाँच आनाको सुनका गरगहना र मोटरसाइकल लुटेर लगेको प्रहरीले जनाएको छ। उनीहरूले चोरी गरेको २५० सिसीको पल्सर मोटरसाइकल माघ १८ गते साँझ बर्दियाको बढैयाताल गाउँपालिका-५ बढैयातालनजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको बाँके प्रहरीले बताए।
पक्राउ परेकाहरू उपर डाँका चोरी मुद्दा लगाउने तयारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।