नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा आजदेखि दोस्रो मध्यविन्दु महोत्सव सुरु हुँदैछ। मध्यविन्दु नगरपालिकामा मध्यविन्दु उद्योग वाणिज्य सङ्घको आयोजनामा अरुणखोलामा उक्त महोत्सव हुन लागेको हो। उक्त महोत्सव यही पुस २४ गतेसम्म सञ्चालन हुनेछ। सङ्घका अध्यक्ष केदारप्रसाद पराजुलीले नगरपालिकामा पर्यटन तथा व्यपारिक गतिविधि वृद्धिसँगै यस क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको बताए। महोत्सवमार्फत विभिन्न व्यावसायिक तथा कृषि उत्पादनको प्रदर्शन गरी नगरपालिकाभित्र व्यावसायिक वातावरण तयार गर्न लागिएको उनको भनाइ छ।
महोत्सवको झण्डै एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ। महोत्सवमा रु १० करोड बराबरको कारोबारको लक्ष्य रहेको पराजुलीले बताए। महोत्सवको आकर्षणका रूपमा पूर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने विविध झाँकीसहितको वृहत् शोभायात्रा, दोस्रो मध्यविन्दु नृत्य आइडल, स्थानीयरूपमा उत्पादित कृषि उपजको प्रदर्शनी तथा कला, संस्कृति, वेषभूषाको प्रदर्शनी रहेको छ।