मनाङलाई हराउँदै एनआरटी सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले मनाङलाई १–० ले हराउँदै तालिका दोस्रो स्थानमा उक्लिएको हो। निकै रोमाञ्चक भएको खेलमा २६औं मिनेटमा मेसुके ओलुमोउले गरेको गोलबाट एनआरटीले तीन अंक जोडेर अंक तालिकामा सुधार गरेको हो।

यससँगै मनाङले पछिल्ला तीन खेलमा दोस्रो हार भोगेको छ। यस अघि एपिएफसँग ३–१ ले पराजित भएको मनाङले ११औं चरणको खेलमा थ्री स्टारसँग १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो स्थानमा रहि रहन जित्नै पर्ने दबाबका साथ मैदान उत्रिएको मनाङले धेरै पटक पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा एनआरटीलाई अंक सुम्पिन बाध्य भएको हो।

यस्तै एनआरटीले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै रोमाञ्चक जित निकालेको हो। हार सँगै मनाङ तालिकाको तेस्रो स्थानमा झरेको छ। यससँगै जारी लिगमा शीर्ष तीनमा अटाउने टोलीबीच होड रोमाञ्चक बनेको छ। बलियो मनाङविरुद्ध रोमाञ्चक जित निकालेको एनआरटीले १२ खेलमा २० अंक जोडेको छ। यस्तै समान २० अंक जोडेको मनाङ तेस्रो स्थानमा झरेको हो।

लिग अन्तर्गत आइतबार नै भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पालाई २–१ हराउँदै यस सिजनको रेलिगेशन संकट टारेको छ। जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गर्दा हिमालयनका अमृत श्रेष्ठले एक गोल गर्दै अन्तर घटाएका थिए। रोमान्चक बनेको खेलको १५ औं मिनेटमा रुपले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा नतिजा सुम्पिएको हिमालयनले ७१ औं मिनेटमा अमृतको गोलबाट खेल बराबरी अवस्थामा ल्याएको थियो। त्यसपछि खेल सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित गर्दै टोलीलाई रेलिगेशन संघारबाट बचाए।

जितबाट जावलाखेलले १२ खेलमा १३ अंक जोडेको छ। जावलाखेल नवौं स्थानमा रहेको छ। हिमालयनले १२ खेलमा १३ अंक जोडेको छ। हिमालयन १० औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×