‘हानिकारक परम्परागत अभ्यासको अन्त्य आफैँबाट गरौं’

सप्तरी- समाजमा हुने हानिकारक परम्परागत अभ्यासलाई अन्त्य गर्न आफैँबाट सुरु गर्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन्। इन्सेकको संयोजनमा राष्ट्रिय महिला आयोगद्वारा आज राजविराजमा आयोजित ‘समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यास’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन्।

सो अवसरमा राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले सबैको मन मष्तिष्कमा हिंसा नगर्ने, नगराउने सोंच तथा कसैले गरेमा प्रतिवाद गर्ने र पीडितका पक्षमा वकालत गर्ने क्षमता विकास गर्न जरुरी रहेको बताइन्।

सामाजिक रुपान्तरणका साथै राजनीतिक प्रतिबद्धता, सुझबुझपूर्ण राजनीतिक नेतृत्व र सही सोंचबाट सञ्चालित रुपान्तरणमुखी साझा अभियानका माध्यमबाट मात्र हानिकारक परम्परागत अभ्यासको अन्त्य सम्भव रहेको बताउँदै उनले साझा अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी सफल पार्न सबैसँग अनुरोध गरिन्।

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले महिला र पुरुष दुबै समान हुन् भन्दै समाजमा भएका हानिकारक अभ्यासलाई अन्त्य गर्नुपर्छ भन्ने मनमा लागे पनि परम्परादेखि चलिआएको रीतिरिवाजलाई अन्त्य गर्न समय लाग्ने बताए। हानिकारक अभ्यासका लागि महिला पुरुष सबै दोषी रहेकाले यसको अन्त्यका लागि पनि सबैको भूमिका आवश्यक रहेको उनले बताए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सरकारी सेवा, सम्पत्ति र राजनीतिमा महिलाको पहुँच बढ्दै गएको उल्लेख गर्दै महिला हिंसा र विभेद क्रमशः हट्दै गएकोमा खुसी व्यक्त गरे।

समाजले अङ्गीकार नगरुञ्जेल कानून कार्यान्वयनमा समेत जटिलता आउने बताउँदै उनले हानिकारक मान्यता हटाउन शिक्षा र चेतना अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औल्याए।

यसअघि इन्सेकका प्रतिनिधि मनोहर पोखरेलले “हानिकारक अभ्यास र जिल्लाको अवस्था सरोकारवालाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्दै संरचनागत विभेद नै हिंसाको कारक रहेकाले नकारात्मक मानसिकता र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए।

सप्तरी जिल्लाको हिंसाको अवस्थाको तथ्याङ्क प्रस्तुत गर्दै उनले पहिलेका पुस्ताले जे भोग्यो त्यहीँ भोग्नुलाई कर्मको फल ठानेर हिंसालाई स्वाभाविक मान्ने महिला र अधिकार ठानेर हिंसा गर्ने महिला, पुरुष सबै जिम्मेवार रहेको बताए।

हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिवाद गर्छु भन्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै उहाँले हिंसाका घटनामा संलग्नलाई राजनीतिक संरक्षण नगरी कानूनबमोजिम हदैसम्मको कारबाही गराउन सबैको पहल आवश्यक रहेकामा जोड दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×