काठमाडौँ - आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘जुग जुग जियो’ लाई सार्वजनिक प्रदर्शन अगावै अदालतमा देखाउनु पर्ने भएको छ।
‘जुग जुग जियो’ फिल्मको निर्माण कम्पनी धर्मा प्रोडक्सनलाई राँचीका बिशाल ए सिंहले आफ्नो स्क्रिप्ट चोरी गरेको भन्दै राँची अदालतमा मुद्दा दायर गरेपछि फिल्म अदालतमा देखाउन लगिएको हो।
आफ्नो अनुमतिविना आफ्नो कथामा फिल्म बनाएको भन्दै उनले अदालतमा उजुरी गरेपछि अदालतले फिल्म हेर्न चाहेको भारतिय समाचार माध्यमले जनाएको छ। अदालतले बिशालको दाबी अनुसार फिल्म बनेको नबनेको निर्क्योल गरेर मात्र फिल्म प्रदर्शनका लागि अनुमति दिने भएको छ।
राज मेहताको निर्देशनमा तयार भएको फिल्ममा अनिल कपुर, नितु कपुर, बरुण धवन र कियारा आडवानी लगायत कलाकारको मुख्य भूमिका रहेको छ।