काठमाडौँ - नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डाविरुद्ध १ विकेटको हार ब्यहोरेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य पछ्याएको युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो।
युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक ३० रनको योगदान गरिन्। त्यस्तै फ्रान्कीलिन नाजुम्बाले १७ रन बनाउँदा जनेत बाबाजीले रनको योगदान गरिन्। बलिङतर्फ नेपालका लागि कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिए। त्यस्तै सीताराना मगर र रुबिना क्षेत्रीले एक–एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन बनाएको थियो। नेपालका लागि विन्दु रावलले २६ रनको योगदान गरिन्। त्यस्तै सरिता मगरले २२ रन बनाउँदा रुविना क्षेत्रीले १७ रन बनाइन्।
डली भट्टले ९ बनाउँदा सीता रानामगरले ६ र इन्दु बर्माले ५ रनको योगदान गरिन्। बलिङतर्फ युगान्डाका लागि जेनेत बावाजीले दुई विकेट लिइन्। त्यस्तै इभनेली एनिपो र रिता मुसामानीले एक–एक विकेट लिइन्।
यो जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ। तेस्रो खेल बिहीबार हुनेछ।