काठमाडौँ - हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो। बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए। काम नलाग्ने रूखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले वनमा उत्पादन गर्न सकिने फलफूलका बिरुवा लगाउन सुरु गरेको हो। पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफूल लगाइएको छ।
जापानिज नास्पाती, एभोगाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधिजन्य जडीबुटीका बिरुवा वनमा लगाइएको लामिछानेले बताए। साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा दुई हजार ५०० बिरुवा लगाइएको उनले बताए। डिभिजन वन कार्यालय बागलुङ, कृषि ज्ञान केन्द्रलगायतका संस्थाले वडाको अभियानमा बिरुवा सहयोग गरेका थिए। रेशकै मौवाघारी सामुदायिक वनमा पनि परीक्षणका रूपमा फलफूलका बिरुवा लगाउन थालिएको उनले बताए।
वनमा फलफूलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने वडाको विश्वास छ। “चिलौने, उत्तिस, अँगेरीलगायतका बिरुवाको वनले मात्रै उपभोक्तालाई फाइदा दिन सक्दैन”, उनले भने, “वनको खाली जग्गामा लगाइएको फलफूलले बहुवर्षे उत्पादन दिँदा समूहमा रहेका सबैलाई फाइदा हुन्छ।”
वन पनि नमासिने र फलफूल पनि हुर्किने गरी खाली जमिनमा बिरुवा लगाउन लागिएको वडाले बताएको छ।